चार दशक अघिसम्म मुक्तिनाथको दर्शन गर्न जाने तीर्थालु आसपासका पौवा र ठाँटी, भेँडीगोठ तथा रानीपौवास्थित धर्मशालामा बस्थे। ठाउँठाउँबाट पुगेका तीर्थयात्रीले रानीपौवा खचाखच भरिन्थ्यो भने अधिकांशले खाने कुराका साथै ओढ्ने ओच्छ्याउने सामग्री आफैँ लिएर जाने गर्दथे ।
यहाँस्थित रानीपौवाले आफ्नै महत्व एवम् ऐतिहासिकता बोकेको छ । तत्कालीन समयमा रणबहादुर शाहकी रानी सुवर्णप्रभा विसं १८६३ मा मुक्तिनाथ दर्शनका लागि पुग्नुभएको थियो । रानी सुवर्णप्रभाले मुक्तिनाथ मन्दिर प्रवेशको मुख्यद्वार यही रानीपौवामा धर्मशाला निर्माण गर्नुभएको थियो । स्थानीयवासीका अनुसार तत्कालीन समयमा कुष्मा अर्मादीबाट काठ ल्याएर धर्मशाला निर्माण गरिएको थियो । त्यसै समयदेखि रानीले बनाइदिएको धर्मशाला भएकाले यसलाई रानीपौवा भनिएको हो । उक्त धर्मशालाले तत्कालीन समयदेखि नै मुक्तिनाथमा आउने तीर्थयात्रीलाई खान तथा बास बस्न सहज भएको थियो ।
रानीपौवामा धर्मशाला निर्माणसँगै फूल, प्रसाद एवम् आवश्यक अन्य समान बेच्ने क्रमबाट यो ठाउँले बिस्तारै व्यावसायिक रुप लिँदै गएकामा यो अहिले रानीपौवा बजारका रुपमा चर्चित छ ।
तत्कालीन समयमा रानीपौवामा बसोबास नभएका कारण त्यहाँबाट केही तल पुराङ गाउँमा सर्वसाधारण बस्थे । रानीपौवा र आसपासका गोठ तथा पुराङ बस्ती रहेकामा धर्मशालामा दर्शनार्थी बस्न थालेपछि पुराङवासी बिस्तारै रानीपौवातिरै उक्ले र ब्यबशाय तर्फ आकर्षित भए।
अहिले धमाधम बन्दै गरेका सुविधा सम्पन्न होटलसँगै रानीपौवा क्षेत्रकै संरचनामा ठूलो परिवर्तन आएको आभाष हुन्छ। अहिले मुक्तिनाथ मन्दिर आउने दर्शनार्थीका लागि सामान्यदेखि सुविधा सम्पन्न होटल उपलब्ध छन् ।