धुलिखेल हुँदै काठमाडौं आउँदा बनेपा जनागालको एउटा बाक्लो बस्तिको रोड कै छेउमा एउटा सेतो बंगलाआकृति घर देखिन्छ। त्यो बाटो भएर हिड्ने धेरैको मनमा उब्जिने प्रश्न यो कसको घर होला या यो मन्दिर होकी के होला ? झट्ट हेर्दा राणाकालका कुनै साहु–महाजनको पुरानो दरबारजस्तो देखिने दुईतले सेतो घर कुनै व्यक्तिगत आवास होइन ।
यो ‘सेतो पाटी’ नामले चिनिने यो घर १ सय वर्ष भन्दा अगाडि बनेको सार्वजनिक पाटी हो ।
यस्तो छ, यो सेतो पाटी’को कथा
बनेपा धेरै पुरानो व्यापारिक केन्द्र हो। पूर्वबाट ढाक्रेहरु र रोजगारी खोज्दै काठमाडौँ आउनेहरु हिडेरै बनेपा सम्म आउने गर्थे। यो काठमाडौँ आउने मूलबाटो हो। राजमार्ग बन्नुभन्दा पहिले यही पाटीको पछाडिबाट भक्तपुर निस्कने मूलबाटो थियो ।
त्यतिबेला देशमा काठमाडौंबाहेक अन्त कतै सडक थिएन । राणा शासकहरू विदेशदेखि बोकेर ल्याएका मोटर गुडाउँथे । पूर्वका जनता राजधानी आउनुपरे सिन्धुली हुँदै काभ्रेपलाञ्चोक निस्केर बनेपा–भक्तपुरको बाटो प्रयोग गर्थे ।
पूर्वी नेपालबाट काठमाडौं हिँडेका अधिकांश यात्रु एकरात यहीँ बस्ने गर्थे । ‘भरियाहरू पाटी छेउको चुह्लोमा ढिँडो पकाएर खान्थे । एक रात थकाइ मारेपछि भोलिपल्ट सजिलै राजधानी पुगिन्थ्यो । तिनै यात्रुलाई बास बस्न ‘सेतो पाटी’ बनाइएको थियो ।
२०२० सालतिर अरनिको राजमार्ग बन्दा मजदुरहरू यही पाटीमा बस्थे । गर्मी भएर थाकेका बेला पाटीको माथिल्लो तलामा आराम गर्ने गर्थे ।
सेतोपाटीको देब्रेपट्टि अर्को एउटा पुरानो ढुंगेधारा छ । त्यो धाराको पानी अहिले पनि सुकेको छैन । सेतो पाटीझैं धारा पनि करिब डेढ शताब्दी पुरानो भएकाले यो पनि ऐतिहासिक सार्वजनिक सम्पदामा पर्छ । पानी ठूलो पलाएको बेला अहिले पनि यहाँ भर्नेको घुइँचो हुन्छ ।
०००
व्यापारिक केन्द्र बनेपाका तत्कालीन धनाढ्य साहु हरिभक्त बादे र उनका दाइ कृष्णभक्त बादेले आफ्नै निजी जग्गामा यो पाटी बनाएका हुन् ।
ऐतिहासिक महत्त्वको ‘सेतो पाटी’ २०७२ सालको भूकम्पपछि धराप बन्यो ।चुनको सेतो रङ लगाइएको दुईतले कलात्मक ‘सेतो पाटी’ कसै–कसैले ‘पुतली पाटी’ पनि भन्छन् । अहिले यसको झ्याल, ढोका र छानोका काठ कुहिएका छन् । सिस्नो र काँडाघारीले पाटीलाई छोपेको छ । घरभित्र झारपात उम्रिएको भएपनि पाटी बनाउँदा प्रयोग भएका जस्ताको छानो, चुनको सेतो रङ र दुई सुरमा बनाएको पुतली आकृति बिग्रिएको छैन ।
०००
राजमार्ग बनेपछि बटुवालाई आश्रय नचाहिने भयो। पञ्चायतको पहिलो चुनाव र पछि स्थानीय चुनाव यहीँ भयो । यहाँ केही समय रेडक्रसले आफ्नो कार्यालय पनि खोल्यो । पञ्चायत कालमा गोप्य छलफल गर्नुपर्दा दलका नेता–कार्यकर्ता यहीँ आउने गरेको मानन्धरको अनुभव छ ।
तत्कालीन कांग्रेस नेता बिपी कोइराला बनेपा आउँदा पनि यही पाटीभित्र बसेर स्थानीय नेतासँग बैठक गरेको इतिहास छ । स्थानीय भेला, छलफल र गुठीको बैठकसमेत यही पाटीमा हुन्थे ।
‘आधुनिक र कलात्मक तवरले जनताले जनताकै लागि बनाइएको यो पाटी उतिबेला बनेपाको गौरव थियो। पक्की घरभन्दा बलियो र भित्र कोठासमेत भएकाले यहा अहिले सम्म यहा हजारौ बैठक छलफल भएका छन्, लाखौलाई बास दिएको छ, लाखौ यात्रुको गर्जो टारेको छ ।
यो परोपकारकै उत्कृष्ट नमूना हो।
०००