कास्की- नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ) गण्डकीले कोरोना भाइरसका कारण स्थगन ‘टिभीएस अपाचे पाँचौँ पोखरा स्पोर्टस् अवार्ड’ आगामी वैशाखमा गर्ने भएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आगामी वैशाख २१ गते गत वर्ष र यस वर्षको गरी दुवै अवार्ड ‘पाँचौँ पोखरा स्पोर्टस् अवार्ड–२०७६÷०७७’ नाममा आयोजना गर्ने निर्णय मञ्चको बैठकले गरेको छ ।
खेलाडी तथा खेल क्षेत्रको विकासका लागि खेलाडीले गरेको प्रदर्शनका आधारमा मञ्चले अवार्ड वितरण गर्दै आएको छ । दुई वर्षको अवधिमा आफ्नो प्रतिभा प्रदर्शनका आधारमा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ । बतास ब्रदर्शको मुख्य प्रायोजनमा हुँदै आएको कार्यक्रममा ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष चर्चित खेलाडी, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल सङ्घ र वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड रहेका छन् ।
विगतमा जिल्लास्तरको उक्त अवार्ड चौथो संस्करणदेखि गण्डकी प्रदेशस्तरीय हुँदै आएको छ ।