वैदेशिक रोजगारीको लागि दुबईमा हुनुहुन्छ र त्यहाँ राम्रो काम पाउनुभएको छ भने तपाईँको कमाई पनि राम्रो हुनसक्छ । राम्रो कमाइसँगै विभिन्न आवश्यकताहरू बढ्छन् र तपाईँलाई धेरैखाले सामाग्रीहरू किन्ने वा भाडामा चलाउने इच्छा भइरहेको हुनसक्छ ।
यस्तोमा यदि तपाईँ कुनै सामान जस्तै फ्ल्याट, गाडी वा मेसिनहरू भाडामा लिँदै हुनुहुन्छ भने त्यहाँको नियमको बारेमा जान्न एकदमै जरुरी हुन्छ । त्यस्ता वस्तुहरू भाडामा लिँदा गर्नुपर्ने सम्झौताहरू जहिल्यै पनि महत्त्वपूर्ण हुन्छन् । भाडामा लिने र दिने व्यक्ति बिचमा कुनै पनि समस्या नआओस् भनेर त्यहाँ त्यस्तो कानुनको व्यवस्था गरिएको हो ।
कानुनमा के के व्यवस्थाहरू छन् त?
- कुनै पनि सम्झौता गर्दा स्पष्ट रूपमा सबै विवरण तयार पारिएको हुनुपर्ने । त्यसमा भाडामा दिइएको सम्पतीको पुरा विवरण, भाडामा लिनु र लगाउनुको कारण, भाडा लगाउने अवधि, तिर्नुपर्ने भाडा र भाडा तिर्ने तरिकाहरू सबै कुरा लेखिएको हुनुपर्छ ।
कति समयको लागि भाडा तिर्ने भन्ने कुरा स्पष्ट लेखिएको नपाइए भाडा तिरिएको मितिसम्म मात्र भाडामा लिइएको भन्ने अर्थ लाग्ने ।
- यदि भाडामा लिइएको अवधि कटिसकेपछि पनि भाडामा लगाउने मान्छेको सहमतिमा भाडामा लिइरहेमा भाडाको अवधि पहिला लिएको अवधि जतिनै थप हुनेछ ।
- कुनै कुरा भाडामा लिए वा दिएपछि दुवैको सहमति बाहेक त्यो सम्झौता रद्ध हुन सक्दैन ।
- यति अवधिपछि यति भाडा बढ्ने भन्ने कुरा सुरुमै बताइएको छैन भने पहिला जति भाडा तिर्ने हो त्यति मात्र तिर्नुपर्नेछ ।
- दुवै पक्षको सहमतिमा बाहेक यदि भएको सम्झौतामा परिवर्तन गर्न चाहेमा ९० दिनभन्दा पहिलानै जानकारी दिनुपर्छ ।
सामान भाडामा लिने व्यक्तिले ध्यान दिनुपर्ने कुराहरू
- भाडा तोकिएको समयमा तिर्नुपर्नेछ ।
- भाडामा लिएको सामानको जतन गर्नुपर्छ ।
- भाडामा दिनेको अनुमति नलिइकन सामानमा कुनै पनि परिवर्तन गर्नुहुँदैन ।