विजय थापा ,डिसी । अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा नियुक्त भएका छन । कनेक्टिकट राज्यको ब्रानफोर्ड टाउन (नगर) को नगर सदस्यमा नियुक्त भएका हुन् ।
गत सेप्टेम्बर २४ का दिन उनलाई उक्त नगर पालिकाको नगर सदस्यमा नियुक्त गरिएको हो । उक्त नगर पालिकामा एक पद रिक्त भए पछि श्रेष्ठलाई उक्त नगरमा उनले गरेका क्रियाकलाप,गतिबिधि र योगदानको कदर तथा मुल्यांकन गर्दै उनलाई उक्त पदमा ल्याइएको हो ।
उक्त पद २ बर्षको रहेता पनि १० महिनामा मै एक पद रिक्त हुन आएकोले श्रेष्ठले अब बाकि १ बर्ष २ महिना (अर्थात् १४ महिना )समय अवधि सम्म काम गर्नु पर्ने छ । उनलाई डेमोक्र्याटिक ककसले सिफारिस गरेका हुन् ।
अमेरिकाका अन्य शहरमा नगरपालिका तथा महा नगर पालिकामा काउन्सिल मेम्बर (नगर परिषद सदस्य ) भन्ने चलन छ भने कनेक्टिकटमा आरटिएम (रिप्रिजेनटेटिभ अफ टाउन मिटिंग)भनिन्छ ।
नेपाल सिन्धुपाल्चोक चौतरा घर भै हाल कनेक्टिकट राज्यको ब्रानफोर्ड नगरमा बस्दै आएका श्रेष्ठ सफल व्यवसायी पनि हुन् । १९९६ मा अमेरिका आएका श्रेष्ठ २० बर्ष देखि उक्त शहरमा चमेनागृहको व्यवसायमा संलग्न छन् ।