महिनावारी महिलाहरुमा हुने एक नियमित र प्राकृतिक प्रक्रिया हो । छुइहुने, परसर्ने, नछुने हुने, महिनावारी हुने, पिरियड वा मिन्स हुने आदि नामले यो प्रक्रियालाई जानिन्छ । करिब १२/१३ वर्षदेखि ४५ वर्षसम्मका महिलालाई हरेक महिना महिनावारी हुने गर्दछ । पाठेघरमा हुने विकारलाई रगतको माध्यमबाट बाहिर निकाली पाठेघरलाई सधैँ सुरक्षित राख्ने प्राकृतिक प्रक्रिया नै महिनावारी हो । महिनावारी हुँदा महिलाको तल्लो पेट दुख्ने समस्या हुन्छ । यो दुखाई कसैलाई बढी र कसैलाई कम भने हुन्छ । यो अवस्थामा महिलाको स्वास्थ्य निक्कै कमजोर र संवेदनशील बन्ने गर्दछ । त्यसैले करिब ४ दिन चल्ने यो प्रक्रियामा महिलाहरुले आफूलाई निक्कै हेरचाह गर्नुपर्ने हुन्छ ।
अनियमित महिनावारीले महिलाहरुलाई सबैभन्दा धेरै तनाब दिइरहेको हुन्छ । यदि महिनावारी समयमा भएन भने महिलाहरुलाई आफू गर्भवती भएको हो कि भन्ने शंका उत्पन्न हुन्छ।
महिनावारीको बारेमा पूर्ण जानकारी नहुनुको कारण मानिसहरुले यस्तो सोच्ने गर्छन् । महिनावारी समयमै नभएको गुनासो गर्ने महिलाको सँख्या दिनानु दिन बढ्दै गएको छ । यस बारे केहि जानकारी यहा प्रस्तुत गर्दैछौ।
हर्मोनको असन्तुलन
नियमित समयमा महिनावारी नहुनुको कारणमा हर्मोनको असन्तुलन एक कारण हो। ‘शरीरमा हुने इन्ड्रोक्रााइन ग्ल्यान्डले उत्सर्जन गर्ने हर्मोनले महिनावारी समयमै गराउने गर्दछ । यसरी उत्सर्जन हुने हर्मोनको सन्तुलन बिग्रियो भने महिनावारी गडबड हुन्छ ।
पोषणको अभाव
कहिलेकाहिँ खानपानको कारणले पनि महिनावारी तलमाथि पर्न जान्छ । पोषणको अभावका कारण महिला कमजोर हुने गर्दछन् । त्यस्तै असाध्यै मोटाउँदा अथवा दुब्लाउदा शररीरमा महिनावारी गराउने तत्वको मात्रा घटबढ भई महिनावारीमा अनियमिता आउने गर्दछ ।
मानसिक तनाव
तनाव पनि महिनावारी गढबढीको कारणमध्यमै पर्छ । बढी तनाव भएको महिना महिनावारी तलमाथि पर्न सक्छ । परिक्षाको समयमा पनि किशोरीहरुको महिनावारीमा तलमाथि हुन सक्छ ।
औसधिको प्रयोग
पछिल्लो समय आकस्मिक गर्भ निरोधक चक्कीको प्रयोग बढेको छ । यसको गलत प्रयोगले पनि महिनावारीमा समस्या निम्त्याएको हुन सक्छ ।
महिनावारी ३० दिनमा भइरहेको थियो तर १० दिन ढिला भयो भने त्यसलाई गडबढी भएको बुझ्नुपर्छ तर कसैको हरेक महिना ४० दिनको फरकमा हुन्छ भने त्यसलाई गडबढी मान्न हुँदैन ।
पाठेघरको समस्या
पाठेघरका विभिन्न किसिमका समस्याले पनि महिनावारी रोकिन सक्छ । यसैगरी उमेरका कारण पनि महिनावारीमा गढबढी आएको हुनसक्नेमा ध्यान दिन जरुरी हुन्छ जस्तो कि महिनावारी भएको शुरुको ४ देखि ५ वर्षको अवधिमा तलमाथि भइनै रहन्छ र महिनावारी सुक्ने अवस्थामा पनि तलमाथि परे डराउन पर्दैन ।
केही महिलामा १५ दिनको फरकमा पनि महिनावारी हुने समस्या हुन्छ । यो एकदम कम महिलामा हुने समस्या हो । महिनावारी हुने तालिका पहिलेदेखि नै १५ दिन रहेको भए सामान्य नै हो । एक्कासी १५ दिनमै फेरि दोहोरियो भने चाहिँ कुनै खराबी आएको बुझनुपर्ने हुन्छ । यस्तो बेलामा चाहिँ ढिलो नगरी चेकजाँच गराउँदा राम्रो हुन्छ ।
‘महिनावारी गडबढी व्यक्तिपिच्छे फरक पर्ने हुन्छ । २८ वा ३० दिनमै महिनावरी हुनु पर्ने कुनै नियम छैन । शुरु देखि जस्तो भइरहेको छ । अहिले पनि त्यस्तै हो भने त्यो सामान्य हो । यसैगरी तीन चार दिनको तलमाथि हुनुलाई पनि सामान्य नै मानिन्छ ।
अनियमित महिनावारीले हाम्रो दैनिक जीवनमा पनि असर पारिरहेको हुन्छ । यसबाट जोगिन शरीरलाइै चाहिने पोषक तत्वको नियमित सेवन गर्नुपर्छ । तनावलाई कम गर्ने विभिन्न उपायहरु अवलम्बन गर्नुपर्छ । त्यस्तै समय–समयमा थाइराइड जचाइ राख्ने एवम् डाक्टरको परामर्श लिइरहने गर्नुपर्छ ।
- ईन्टरनेटको सहयोगमा