काठमाडौं : करिब पाँच वर्षदेखि रोकिएको इजरायल रोजगारी फेरि खुलेको छ। रोजगारी खुलाउन नेपाल र इजरायलबीच बिहीबार सम्झौता भएको छ। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार पहिलो चरणमा पाँच सय जना नेपाली इजरायल जान पाउनेछन्। ‘इजरायल पठाउन कार्यविधि बनाउँदै छौं’, उनले भने,‘छनोट विधि बनाएर छिट्टै कामदार पठाउनेछौं।’
विभागले यही जनवरीदेखि प्रक्रिया सुरु गर्नेछ। कामदार प्रतिस्पर्धाका आधारमा छनोट हुनेछन्। तीन महिनाभित्रै कामदार इजरायल पठाउनेगरी विभागले गृहकार्य सुरु गरेको महानिर्देशक दाहालले बताए। सरकार टु सरकार (जीटुजी) मार्फत कामदार इजरायल जान पाउनेछन्।
इजरायल वैदेशिक रोजगारीका गन्तव्य मुलुकमध्ये आकर्षक मानिन्छ। पुनः सम्झौता भएसँगै इजरायल खुलेको हो। सन् २०१५ सम्झौता भएपनि कामदार इजरायल जान पाएका थिएनन्। त्यतिबेला बिजनेज टु बिजनेस(बीटुबी) मोडेलबाट कामदार पठाइने भनिए पनि मुस्किलले एक सय जना पनि जान पाएका थिएनन्।
रोगगारको लागि के कस्ता मापदण्ड छन् ?
इजरायलमा जाने नेपाली २५ देखि ४५ वर्ष उमेर समूहको हुनुपर्छ। दसजोड दुई पास गरेर तीन महिनाको केयर गिभर तालिम लिएकाले अवसर पाउनेछन्। दसजोड दुई पास गरी १५ महिने अनमी पढेकाले पनि इजरायल जान पाउनेछन्। इजरायल जान हिब्रु र अंग्रेजी भाषा जान्ने हुनुपर्छ।
मासिक आम्दानी कस्तो हुन्छ ?
यसरी छनौट भएका नेपाली कामदारले इजरायलमा मासिक एक हजार पाँच सय डलर (डेढ लाख नेपाली) पारिश्रमिक पाइन सक्छन । ३ सय २० डलर फन्डमा जम्मा हुन्छ। कामदार फर्किंदा पाउने प्रावधान छ। सुरुमा १ हजार २ सय ८० डलर पाउँछन्।
काम कस्तो हुन्छ?
श्रमको लागि इजरायलमा पुगेका नेपालीले केयर गिभर (वृद्धवृद्धा र बालबालिकाको रेखदेख) को काम गर्नुपर्छ । इजरायलले केयर गिभर, नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्रलगायत नेपाली श्रमिक लैजानेछ।
कति खर्च लाग्छ ?
इजरायल जान (हवाई भाडा, स्वास्थ्य परीक्षणसहित) एक लाख रुपैयाँभन्दा बढी खर्च नहुने भएकाले इजरायल रोजगारप्रति कामदार आकर्षित छन्।