म्याग्दी, पुस २१।
मुक्तिनाथ मन्दिर आज आर्थात पुस २१ गते मंगलवारदेखि खुला गरिने भएको छ ।
कोभिड १९ महामारीका कारण विगत ९ महीनादेखि बन्द रहेको मुक्तिनाथ मन्दिर खुला गर्ने निर्णय भएसँगै म्याग्दी र मुस्ताङका पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका छन् । जिल्ला प्रशासन कार्यालय मुस्ताङको संयोजनमा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको भेलाले पुस २१ गतेदेखि मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरेको हो ।
हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मानिने मुक्तिनाथ मन्दिर खुलेपछि नेपालका विभिन्न ठाउँ, भारत र तेस्रो मुलुकबाट पर्यटक समेत आउने भन्दै म्याग्दी र मुस्ताङका पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका छन् ।
मुस्ताङका पर्यटकीय स्थल तथा मुक्तिनाथ मन्दिर खुला भएपछि यहाँको होटल तथा पर्यटन व्यवसाय पुरानै लयमा फर्किने विश्वास ब्यबशायीले गरेका छन् । मुक्तिनाथमा भएका होटलमा प्रतिदिन एक हजार ५०० जनासम्म आन्तरिक पर्यटकलाई थेग्न सक्ने क्षमता छ ।