काठमाडौँ । नेपालका प्रमुख चार ठूला चिनी उद्योगहरू बन्द हुँदा यस पटक नेपालले विगतमा भन्दा धेरै चिनी आयात गर्नु पर्ने अवस्था सृजना भएको छ ।
करिब करिब आत्मनिर्भरताको नजिक पुगेको नेपाली चिनी उद्योग क्रमिक रुपमा बन्द हुन थालेपछि नेपालले बर्षेनि चिनीको आयातमा ठूलो रकम खर्चिनु परिरहेको छ ।
विगतमा सञ्चालनमा रहेका नेपालका ठूला चिनी मिलहरू लुम्बिनी, श्रीराम, अन्नपूर्ण, इन्दिरा सुगर मिल बन्द भएका छन् । उद्योगलाई चाहिने कच्चा पदार्थको अभाव लगायतका अन्य समस्याका कारण चिनी मिलहरू क्रमिक रुपमा बन्द हुने अवस्थामा पुगेको उद्योगीहरूले बताएका छन् ।
कुनै समय नेपाली चिनी मिलहरूले वार्षिक १ लाख ८० हजार मेट्रिक टन सम्म चिनी उत्पादन गर्न थालेका थिए ।
हाल नेपालको चिनीको खपत बर्षेनी करिब २ लाख ५० हजार मेट्रिक टन पुगेको छ ।
यो बर्ष नेपाली ७ चिनी मिलहरूले ७४ हजार मेट्रिक टन मात्र चिनी उत्पादन गरेका छन् । यस बर्ष नेपालले आन्तरिक माग धानको लागि बाहिरबाट करिब १ लाख ७५ हजार मेट्रिक टन चिनी आयात गर्नुपर्ने अवस्था आएको उद्योग मन्त्रालयका सहायक प्रवक्ता उर्मिला केसीले बताउनुभयो । चिनीको आयात भने व्यापारीहरूले नियमित प्रक्रियाबाट गर्ने पनि उहाँले जानकारी दिनुभयो ।