काठमाण्डाै - माघे सङ्क्रान्ति नजिकिएसँगै बजारमा तरुलको कारोबार बढेको छ ।
हिजोदेखि माघे सङ्क्रान्तिका लागि तरुलको कारोबार बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । समितिकाअनुसार यसपालि पोहोरको जस्तै मूल्यमा तरुलको कारोबार भइरहेको छ ।
गएका वर्षहरुमा जस्तै यसपालि सर्लाहीबाट सबैभन्दा धेरै तरुल भित्रिएको छ ।
बजारमा अहिले दैनिक ६० देखि ७० मेट्रिक टन तरुलको भित्रिरहेको छ । थोक बजारमा अहिले पाल्पाको हात्ती पाइले तरुल किलोका ९० देखि एक सय रुपैयाँ, धरानको हात्ती पाइले तरुल ५० देखि ६० रुपैयाँ थोक मूल्य छ । यस्तै, वन तरुल किलोको १२० रुपैयाँ किलो, पाताले तरुल १ एक सयदेखि १४० रुपैयाँ, सर्लाहीको तरुल किलोको ६० देखि ७० रुपैयाँ, सिमल तरुल किलोको १२० रुपैयाँ थोक मूल्य रहेकाे छ ।